सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


काठमाडौं, भदौ २६। सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । हिजोको बैठकमा नै सहमति गर्ने भनिए पनि दलहरुका आआफ्नै अडानका कारण कुनै निष्कर्ष निस्कन सकेन । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिको धरै नजिक पुगिसकेकाले सार्वजनिक गर्न मात्रै बाँकी रहेको बताउनु भएको छ । मधेसका ३२ सिटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको धेरै दाबी देखिएपछि पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा किचलो बढेको छ ।

दुवै दल मधेसमा पहिलो शक्ति बन्ने दाउमा छन् । सङ्गठन र जनाधार बलियो रहेको मधेसमा धेरै सिट पाउनुपर्ने जसपाको अडान छ । तर, धेरै सिट लिएर लोसपालाई पनि सँगै लिएर जाने कांग्रेसको रणनीति छ । मधेसका आठ जिल्लाका ३२ सिटमध्ये जसपा एक्लैले २० सिटमा दाबी गरेको छ । जसपाले अस्वाभाविक दाबी गरेको भन्दै गठबन्धनका अन्य दल यसलाई मान्न तयार छैनन् । गएको वैशाखमा भएको पालिका चुनावमा ठूलो दल भएकाले धेरै सिट आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ ।