नेपाली सांस्कृतिलाई विश्वसामु चिनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘नेपाली भूमि ज्ञान भूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरू गर्न बाँकी छ । यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्त्वलाई उद्घाटन गर्नुपर्छ ।’’

 

कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्नुभएको छ भने प्रतिष्ठानद्वारा प्रकाशित नेपाल इन इमेज र प्रज्ञा नेपाली बृहत् शब्दकोश सार्वजनिकीरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्त्वलाई उजागर गर्न आवश्यक रहेको बताउनुभयो । नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवम् साहित्यिक कृतिहरूलाई सङ्कलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

 

प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार एवम् राष्ट्रिय कविता महोत्सव समारोहमा प्रतिष्ठानद्वारा प्रदान गरेको महत्त्वपूर्ण सामग्री ग्रहण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

‘‘नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवम् साहित्यिक कृतिहरुलाई सङ्कलन गरी बाहिर ल्याउनुपर्नेछ । नेपाली सिर्जनाहरु पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणीत गर्नुपर्छ । साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको साधकहरुलाई सम्मान गर्न पाउँदा आज गौरव अनुभूत भइरहेको छ । कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्छ भने नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्नेछ,’’ उहाँले भन्नुभयो ।

राष्ट्रपतिले नेपाली सिर्जनाहरु पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नु आजको आवश्यकता रहेको जानकारी दिनुभयो ।

 

राष्ट्रपति भण्डारीले प्रतिष्ठानद्वारा प्रकाशित नेपाल इन इमेजको सार्वजनिकीकरण गर्नुहुँदै ।

राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन, सामाजिक शास्त्र, विज्ञान आदि विषयको अध्ययन, अनुसन्धान, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आजभन्दा ६५ वर्ष अगाडि स्थापित नेपाल प्रज्ञा–प्रतिष्ठान राष्ट्रको अत्यन्त गरिमामय प्राज्ञिक संस्था हो ।