व्यापार घाटा कम गराउन चिनियाँ नेता लीसँग प्रचण्डको आग्रह


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुसँग नेपालको व्यापार घाटा कम गराउन पहल गर्न आग्रह गरेका छन्। मंगलबार नयाँ बानेश्वरमा भएको भेटमा अध्यक्ष प्रचण्डले चीनसँग बढ्दै गएको व्यापार घाटा सन्तुलनमा ल्याउन सहयोग गर्नुपर्ने बताएका हुन्।

‘चीनसँगको नेपालको व्यापार घाटा फराकिलो बन्दै गयो,’ चाङ्सुसँग प्चण्डले राखेको भनाई उधृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले भने, ‘यसलाई सन्तुलनमा ल्याउन चिनियाँ सरकारले ठूलो छाती गराउनुपर्छ, उदार भइदिनुपर्छ।’

जवाफमा चाङ्सुले चीन सरकारलाई यसबारेमा भनेर सम्बोधन गर्ने प्रतिवद्धता जनाएको नेपाल खवरले जनाएको छ । ‘हामी जोड दिएर सरकारलाई भन्ने छौं, नेपालमा देखिएको यो समस्या समाधान गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराएर सम्बोधन गराउँछौं’ चाङ्सुले भने।

गत आर्थिक वर्षमा नेपालको चीनसँगको व्यापार घाटा २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँ छ। दशैंअघि रसुवा र तातोपानी नाका खोल्न पहल गर्ने चाङ्सुले प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
नेपालबाट बस्तु निर्यात जम्मा ८० करोड ८७ लाख रुपैयाँ बराबरको मात्र भएको छ भने बस्तु आयात २ खर्ब ६४ अर्ब ७ करोड रुपैयाँ बराबरको भएको छ।