एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता


चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पाँच विषयमा छलफल भएको छ। मंगलबार विहान नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेटमा चाङ्सुले चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सुनाएका थिए।

औपचारिक वार्तामा सहभागी एमालेका एक पदाधिकारीले दिएको जानकारी बीआरआइ, तातोपानी र रसुवा नाका खोल्ने विषय, नेपालको पछिल्लो राजनीतिक अवस्था, एक चीन नीति र पार्टीगत विषयमा कुरा भएको थियो।

एमालेका तर्फबाट अध्यक्ष ओलीले रणनीतिक योजना भएको बिआरआइबारे चासो राखेका थिए। ‘बीआरआइ परियोजनामा नेपालले गरेको सम्झौता यथाशिघ्र कार्यान्वयन गराउनुपर्छ, यसबाट लाभ लिनुपर्छ भन्ने कुरामा प्रतिबद्ध छौँ,’ ओलीको भनाई थियो, ‘नेपालको विकास निर्माणको कुरामा चीनले गर्दै आएको सहयोग सह्राना गर्दछौं।’

एक चीन नीति प्रति नेपाल सधैँ प्रतिवद्ध रहेको ओलीले प्रतिवद्धता जनाए । ‘एक चीन नीति प्रति नेपाल सधैँ प्रतिबद्ध छ,’ ओलीले भने, ‘यसमा सशंकित नहोस्, चीनलाई हेर्ने दृष्टिकोण नेपालको बदलिने छैन।’

जवाफमा चिनियाँ कंग्रेस अध्यक्ष चाङ्सुले चीन–नेपाल सम्बन्ध निकै पुरानो रहेको बताए। ‘चीन–नेपाल सम्बन्ध निकै पुरानो हो, हामी असल र पुरानो छिमेकी हौँ,’ अध्यक्ष चाङ्सुले भने, ‘चीनलाई अप्ठेरो पर्ने कुरा नेपालबाट हुने छैन भन्ने कुरामा हाम्रो पूरै विश्वास छ।’

उनले नेपालमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट स्थिति अझ राम्रो हुने विश्वास लिए। ‘नेपाल अब झन् राम्रो हुँदैछ,’ उनले भने। आजै उनले नेपालका नेपालका उच्चपदस्थ व्यक्तित्वहरुसँग शिष्टाचार भेट गर्ने क्रम जारी छ ।