काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु


काठमाडौं, भदौ ३०। काभ्रेमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा आमा र छोराछोरीको मृत्यु भएको हो।पहिरोले पुरिएर ४४ वर्षीय छोरा निरबहादुर तामाङ, ४० वर्षीया छोरी साबित्री तामाङको घटनास्थलमा र ६५ वर्षीय ठूलिमाया तामाङ ‘लुदुलुङ तामाङ’को उपचारको क्रममा मृत्यु भएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए।

घरमा सुतिरहेको अवस्थामा राति साढे १ बजेतिर ढुंगा खानीबाट पहिरो खसेको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारका अनुसार पहिरोले पुरिएको खबर पाए लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र स्थानीय उद्धारमा जुट‍ेका थिए। सोही क्रममा दुई जना छोराछोरीको शव भेटिएको हो। पहिरोमा परेर गम्भीर घाइते भएकी ठूलिमायाको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचारका लागि अस्पताल पुर्‍याएको भएपनि बिहान उनको पनि मृत्यु भएको सुनुवारले जानकारी दिए।