अछाम पहिरो अपडेट : चारजनाको मृत्यु, १२ बेपत्ता


काठमाडौं, असोज ०१ । लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्। जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।

कमलबजार ६ मा अहिलेसम्म पहिरोले पुरिएको ४ वटा शव निकालिएको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए। यहाँ अन्य तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको डिएसपी डाँगीले बताए। अछामकै ढकारी गाउँपालिकामा पनि पहिरोले क्षति पुगेको छ। तीनै स्थानीय तहको घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।