अछाम शोकमा : पहिरो प्रभावित क्षेत्रमा आवश्यक राहत तथा व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग


काठमाडौं, असोज ०२ । पहिरोले २१ जनाको ज्यान गएपछि अछाम शोकमा डुबेको छ । तुर्माखाँद, कमलबजार र ढकारीमा पहिरोले २१ जनाको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पुष्टि गर्नुभएको छ । तुर्माखाँद र ढकारीमा गरी दुई जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । घटनामा घाइते भएका तीन जनाको सुर्खेत र तीन जनाको मङ्गलसेनमा उपचार भइरहेको छ ।

शुक्रवार राति खसेको पहिरोले घरभित्रै च्यापिएर मानवीय क्षति भएको हो । कमलबार, तुर्माखाँद र ढकारी आपसमा जोडिएका पालिका हुन् । शुक्रवार राति ठूलो पानी परेको र जमिन थर्केर पहिरो खस्दा केही घर पुरिएका तथा केही भत्काएका छन् । घरबारविहीन भएकाहरु कोही आफन्तकोमा र केहीलाई नजिकै सुरक्षित ठाउँमा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार राहत र बसोबास व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग गरिएको छ ।

अहिले पालिकाले विपद् कोषबाट आवश्यक व्यवस्थापन मिलाएका छन् । जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई राहत पालिकाबाट उपलब्ध गराउन भनेको छ। पहिरोले ग्रामीण सडक बगाएको छ । पछिल्ला वर्ष पालिकाले खनेका सडकका कारण पनि पहिरोको जोखिम बढेको छ । मापदण्ड र प्रक्रिया नपुर्याइ खनिएका सडकले पहिरोको जोखिम बढाएका अछामका निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।