पत्रकार देवेन्द्र गौतमको निधन


काठमाडौं, असोज ०२ । वरिष्ठ  पत्रकार देवेन्द्र गौतमको निधन भएको छ। उनको आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। निमोनिया भएपछि उनलाई ललितपुरको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतम सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक सभापति थिए। ७७ वर्षीय गौतम कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो।

पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए। पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनीबाट सम्पादन, प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो। २०४२ को बम काण्डका बेला रामराजा प्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई छ महिना हनुमानढोकामा थुनिएको थियो। उनको आज विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।