सर्वोच्च प्रशासनलाई जबराको फोन – म आउँदैछु, आवश्यक प्रबन्ध गर्नू


काठमाडौं, असोज ०२ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सर्वोच्च अदालतमा हाजिर हुने भएका छन्। जबराले आफू सर्वोच्च अदालत फर्किने भएकोले आवश्यक तयारी गर्न प्रशासनलाई निर्देशन दिएका हुन्। जबराले शनिबार साँझ आफू आइतबार बिहान कार्यालय आउने खबर गर्दै सर्वोच्च प्रशासनलाई तयारीका लागि प्रबन्ध मिलाउन फोन गरेको सर्वोच्च प्रशासन स्रोतले जानकारी दियो।

‘म आइतबारदेखि आउँदैछु,आवश्यक तयारी मिलाउनुहोला। जबराले सर्वोच्च प्रशासनलाई फोन गरेर भन्नुभएको छ‘, । यसबारे सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीश दिपक कार्की र बार नेतृत्वलाई अवगत गराइसकेको छ। आफूलाई यसबारे जानकारी आएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले पनि बताए। उनले बारले अवरोध गर्ने पनि बताए। जबरा सर्वोच्च फर्किने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च अदालत वरपर बाक्लो रुपमा प्रहरी उपस्थित गराइएको छ।

गत फागुन १ गते सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए। त्यससँगै उनी निलम्बनमा परेका थिए। प्रतिनिधिसभाको कार्यकाल शनिबार रातिदेखि सकिएको छ। कार्यकाल सकिएकोले संसद्‌मा पुगेका सबै प्रस्ताव निष्क्रिय हुने व्यवस्था बमोजिम महाभियोग पनि निष्क्रिय हुने जबरा पक्षधरको जिकिर छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भने राणालाई महाभियोग लगाउनुपर्ने सिफारिससहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई संसद्‌को कार्यकाल सकिनुअघि शनिबार दिउँसो नै बुझाएको थियो।११ सदस्यीय सिफारिस समितिले बहुमतका आधारमा तयार पारेको प्रतिवेदन सभामुखलाई बुझाएको हो। एमालेले समितिको प्रतिवेदनमा ८ बुँदे फरक मत राखेपछि प्रतिवेदन बहुमतबाट पारित भएको थियो।