राष्ट्रपतिको कदममा उपराष्ट्रपतिको असन्तुष्ट किन ?


राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट बनेका छन् । उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् ।बुधबार एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्पष्ट गरेका हुन् । संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो ।  संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् ।

यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’ उनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह समेत गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर दोस्रो पटक पठाइएको नागरिकता विधेयक मंगलबारसम्ममा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने भएपनि गरेकी थिइनन् । राष्ट्रपतिले संविधानअनुसार आफूले गर्नुपर्ने कार्य नगरेर संविधानको उलंघन गरेको आरोप लागेको छ।