वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने : खाली गर्न दिउँसो १ बजेसम्मको समय


काठमाडौं, असोज ०६। काठमाण्डौको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ। काठमाण्डौ महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्।महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको बताउनुभएको छ ।

ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल हटाइने उहाँले बताउनुभयो । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो । प्रहरी प्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ।