आज बाट बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा


काठमाडौं, असोज ०७। शुक्रबारदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको छ। शुक्रबारदेखि नै हलिउड फिल्म ‘अवतार’ पुनः प्रदर्शनमा ल्याइएको छ। ‘प्रेम गीत ३’ का कारण अवतार छायाँमा परेको छ। सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म हिन्दी र नेपाली गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। ५० देशमा एकसाथ प्रदर्शनमा आएको फिल्मको हिन्दी डब नेपालमा भने सोमबारदेखि मात्रै लाग्ने भएको छ।

सबैभन्दा धेरै ७० देखि ९० प्रतिशतसम्म शो पाएको फिल्मको पहिलो दिनका अधिकांश शो हाउसफुल छन्। विश्व भरी १२ सय पर्दाबाट एकसाथ प्रदर्शन थालेको फिल्म नेपाली फिल्म उद्योगका लागि कोसेढुंगा साबित भएको छ। भारतमा पनि पहिलो दिनका अधिकांश शो हाउसफुल देखिएको छ। ‘कबड्डी ४’ पछि कुनै पनि नेपाली फिल्मले प्रदर्शन अघि पाएको हाइप यो सबैभन्दा धेरै हो। फिल्मले बक्स अफिसमा धेरै नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ। फिल्ममा प्रदिप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने सुनिल थापा, मनिष राउत, शिव श्रेष्ठ, लक्ष्मी बर्देवा, जिवन भट्टराई लगायतका कलाकारको अभिनय रहने छ।