टुकुचा खोलाको विषय बुझ्‍न शताब्दी पुरुष जोशीलाई भेट्न पुगे मेयर बालेन


काठमाडौं, असोज ०७। महानगरपालिकाका मेयर बालेन साह र शताब्दी पुरुष सत्यमोहन जोशीबीच भेट भएको छ। जोशीको स्वास्थ्य अवस्था बुझ्न मेयर बालेन शुक्रबार जोशीको निवासमा नै पुगेको मेयरका स्वकीय सचिव भुपदेव साहले जानकारी दिए। जोशीको स्वास्थ्य अवस्था साथै,काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदालगायत टुकुचा खोलाको विषयमा पनि कुराकानी भएको साहले जानकारी दिए। शताब्दी पुरुष जोशीले टुकुचा खोला खुल्ला गर्नुपर्ने बताएको साहको भनाइ थियो।

काठमाडौ महानगरपालिकाले टुकुचा खोला उत्खनन् कार्य अघि बढाएसँगै विवाद सुरु भएको छ। राणा कालमा बनेको संरचना सम्पदा हुने भन्दै आवाज उठिरहेको छ। टुकुचा खोलामाथि बनेको संरचनामा डोजर नलगाउन अदालतले अन्तरिम आदेशसमेत दिएको छ। सोही विवादका बेला टुकुचामाथि बनेको संरचना सम्पदा हुन् या टुकुचा खुल्ला गर्ने भन्ने विषयमा कुरा भएको थियो। त्यस क्रममा उनले खुल्ला गर्नुपर्ने बताएका थिए।