शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना : डेङ्गीको सङ्क्रमण पुष्टि


काठमाडौं, असोज ०८। शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ । यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत हुनुभएको छ । विसं १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनु भएका जोशी उमेरले एक सय तीन वर्ष पुगिसक्नुभएको छ ।