एमाले अध्यक्ष ओलीले जनकपुरमा, प्रभु साह र महासेठसंगै रेलमा सरर…


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर–जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुरमा रहेको ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।

उनलाई पर्खिँदा जनकपुर– जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उनले टिकट नै किनेका थिए ।

काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन एमालेका अध्यक्ष अ‍ोली जनकपुरमा छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।

कार्यक्रममा युवा तथा विकासप्रेमी नेता प्रभु साह, रघुविर महासेठलगायत मधेश प्रदेशमा जिल्ला स्तरका नेताहरुले समेत रेल यात्रा गरेका थिए । ओली साह र महासेठका दम्पती एकै डिब्बामा बसेको देख्न सकिन्छ ।

यसअघि उनी विभिन्न नेताहरूलाई पार्टीमा प्रवेश गराउन भदौ ३१ सिरहा पनि पुगेका थिए । मधेसवादी दलबाट नेताहरू आफ्नो पार्टी ल्याउन ओली अहिले लगातार मधेस गइरहेका छन् । यतिबेला जसपा र लोसपाका शीर्ष नेताहरू नै एमालेमा प्रवेश गर्न थालेका छन् ।

मधेसमा राम्रो पकड बनाउँदै गइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरे पछि मधेसमा एमालेको पनि आलोचना भएको छ । राष्ट्रपति भण्डारी तथा एमालेको विरोधमा मधेसमा प्रदर्शन भइरहेका छन् । जसपा, लोसपा, जनमत, तमलोपा, नेपाल सद्भावना पार्टीलगायत अन्य संघ संगठनले पनि त्यसको विरोधमा उत्रेका छन् ।

आन्दोलनलाई मत्थर पार्न जनकपुर जानुभन्दा एक दिन अघि उनले चुनावी गठबन्धनका लागि लोसपालाई वार्ता समिति गठन गर्न लगाएका छन् । लोसपाका अध्यक्ष ठाकुरले हिजो नै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गरिसकेका छन् ।

वार्ता समिति गठन गरेको बारेमा अध्यक्ष ठाकुरले जानकारी गराउनका लागि नेता महतोलाई पत्र पनि पठाएका छन् । वार्ता समिति गठन गरेको कुरा बाहिर आएपछि लोसपाले एमालेविरुद्धको आन्दोलन स्थगित गरेको छ । उनी जनकपुर पुगेर रेलको यात्रा पनि गरेका छन् ।