शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क सीपिएफमा हस्ताक्षर गरेका हुन ।

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएर्ईए मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै, पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ ।

साथै, सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६ औँ महासभालाई पनि सम्बोधन गरेका हुन । सम्बोधनमा पौडेलले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि वा महासन्धिहरुको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए ।

उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि प्रष्ट पारेका थिए ।

सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५०औँ वार्षिकोत्सवमा पनि सहभागिता जनाएका छन् । सोही अवसरमा मन्त्री पौडेलले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसीएको सहयोग बहुमूल्य रहेको बताए । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजना र आरसीए परियोजनाहरुमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको उनको भनाइ छ ।