हिउमा हराएकी विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटियो


मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन् ।

नेल्सनको शव भेटिएको र सामागाउँ हुर्दे हेलिकप्टरबाट काठमााडौं ल्याउने भएको हो । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो ।

काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।