बुटवलका सडकमा खुला दूध बेच्न रोक


काठमाडौं, असोज १४। बुटवल उपमहानगरपालिकाले खुला रूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ। उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो।

अर्यालले दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको बताइन्। यस्तै बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध विक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ। रासस