सन्दीप लामिछानेले २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने


काठमाडौं, असोज १५। चर्चित क्रिकेटर सन्दीप लामिछानेले दशैँ टीकाको भोलिपल्ट अर्थात् यही असोज २० गते (अक्टोबर ६) का दिन नेपाल फर्केर प्रहरीसामु आत्मसपर्पण गर्ने बताएका छन् । नाबालिकामाथि बलात्कारको आरोप खेपिरहेका लामिछाने केही समयदेखि विदेशमा छन् ।

उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी काटिसकेको अवस्थामा उनी आफैले प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन । आफ्नो फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका छन् ।‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा मेरो देश नेपाल फर्कँदैछु,’ उनले भनेका छन्, ‘ममाथि लागेको झुटो आरोपका विरुद्ध म कानुनी लडाइँ लड्नका लागि अख्तियारप्राप्त अधिकारीसमक्ष आत्मसमर्पण गर्नेछु ।’

उनले आफू निर्दोष छु र न्याय प्रणालीप्रति आफूले सफाइ पाउनेमा पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तथा तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयप्रति म दृढ विश्वास गर्दछु । र, म छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु,’ उनले भनेका छन् । क्रिकेट खेलका दौरान उनी विदेश गएको बेला एक नाबालिकाले उनीविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि विदेशमै लुकीछिपी बसेका लामिछानेले केही समय कानुनी परामर्श लिएर कानुनी रुपमै यो लडाइ लड्नका लागि नेपाल फर्किन लागेको बताएका हुन् ।