घटस्थापनादेखि आज बिहानसम्म ५ लाखभन्दा धेरैले काठमाण्डाै उपत्यका छाडे


काठमाडौं, असोज १५। दशैँ मनाउन घटस्थापनादेखि आज बिहानसम्म काठमाण्डौ उपत्यकाबाट ५ लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् । गएको १० गते घटस्थापनाका दिन झण्डै ६० हजारले काठमाण्डौ उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र हिजोदेखि आज बिहानसम्म झण्डै डेढ लाख यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ । यो सङ्ख्या आजदेखि झनै बढ्ने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सह–प्रवक्ता अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो।

आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप छ । बिहान मुख्य नाकामा जाम भए पनि अहिले सहज रुपमा गाडी चलेका छन् । तर लामो दूरीका गाडी बाहिरिने क्रम निरन्तर रहने भएकाले बेलुका फेरि गाडीको चाप बढ्ने प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । यसपटकको दशैँका लागि झन्डै २० लाख जनाले काठमाण्डौ उपत्यका छाड्ने अनुमान छ।