उपराष्ट्रपति पुनद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना


काठमाडौं, असोज १५। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज (शनिबार) बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपतिले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । सो अवसरमा उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभएको छ ।

जोशीको उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराउनुभयो । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गर्नुभयो । ‘‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’’, जोशीलाई राष्ट्र पिताको रूपमा सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, ‘‘उहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’’ शताब्दी पुरुष जोशी डेंगु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत हुनुहुन्छ ।