देशैभर भारी वर्षा, ठाँउ-ठाँउमा राजमार्ग अवरुद्ध


अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको सङ्केत मानिन्छ ।

यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ । नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभएको छ । यता जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ ।

सिद्धार्थ राजमार्गको अवरुद्ध
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरू बीचमै रोकिएका छन् । त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ ।

मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादशैंमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई निरन्तरको वर्षाले सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैँ कष्टकर बनेको छ ।

बेँसीसहर–चामे सडक अवरुद्ध
निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेको न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । अधिक वर्षा भएपछि यस सडक खण्डमा पहिराले क्षति पुर्‍याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको उहाँले बताउनुभयो । “यस सडक खण्डअन्तर्गत खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा गर्न सक्ने अवस्था छैन”, प्रजिअ आचार्यले भन्नुभयो, “योसँगै अन्य स्थानमा पनि कति बेला माथिबाट पहिरो खस्छ भन्ने थाहा नभएकाले यात्रा गर्न जोखिम रहेको छ ।”

पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकले यस विषम परिस्थितिलाई ध्यानमा राखेर यात्रा नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रशासन कार्यालयले कसैले मनाङको अनुपम छटाले भरिपूर्ण प्रकृतिसँग रमाउनका लागि आफ्नो यात्रा तय गरेको भए सडक सञ्चालन भएको जानकारी लिएर मात्र योजना बनाउन पनि सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ । गोरखापत्रबाट