समानुपातिक बन्दसूबाट २९ जनाको नाम फिर्ता


आगामी निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सकिने सूचना जारी गरेपछि २९ जनाले आफ्नो नाम फिर्ता लिएका हुन्।

आयोगका सो प्रणालीका लागि तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ ९ र प्रदेशसभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन्। फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका ९, नेकपा माओवादी केन्द्रका २, जनता समाजवादी पार्टीका ५, एकीकृत समाजवादी र जनता समाजवादीका ५, नागरिक उन्मुक्ति पार्टीका १, पुनःजागरण पार्टीका १ र राष्ट्रिय नागरिक पार्टीका पाँचजना रहेका छन्।

यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ।