अमेरिकी ७३ जना अर्बपति नेपाल आएपनि किन बसेन्न ?


अमेरिकाबाट ७३ जना अर्बपतिहरु निजी जहाज लिएर नेपाल घुम्न आएका छन् । नेसनल जोग्राफिक सोसाइटीको निजी जहाज ९बोइङ ७५७० लिएर अमेरिकी अर्बपतिहरुको जम्बो टोली नेपाल घुम्न आएको हो ।

अमेरिकी अर्बपतिहरु सवार जहाज मंगलबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपालका विभिन्न गन्तव्यमा घुम्ने गरी आएको भएपनि खराब मौसमका कारण उनीहरुले पूर्वनिर्धारित गन्तव्य भने घुम्न पाएनन् ।

उनीहरु आजै भुटान जाने छन् । मंगलबार भने उनीहरु होटल द्वारिकाजमा बसेका छन् ।

जहाज चार्टर गरेर विश्व भ्रमणमा निस्किएका उनीहरुले नेपाललाई पनि आफ्नो भ्रमण देशको सूचीमा राखेर नेपाल उत्रिएका थिए । काठमाडौँबाट उनीहरु मुस्ताङको ल्होमान्थाङसम्म जाने तालिका थियो । तर, मौसम खराबीका कारण उनीहरु जान पाएनन् ।

एक हप्ता नेपाल घुम्ने गरी आएका अमेरिकी अर्बपतिहरु मुस्ताङको ल्होमान्थाङदेखि चितवनको मेघौली र धुलिखेलसम्म घुम्ने तालिका थियो । तर, बुधबार धुलिखेल पुग्नेबाहेक अरु तालिका अनुसार उनीहरु घुम्न पाएनन् ।

आज धुलिखेलमा बिहानको खाजा खाएर उनीहरु भुटान जान तयार भएका छन् । उनीहरुलाई भुटान एयरलाइन्सको चार्टर जहाजले भुटान लैजाने छ ।

२ दिन भुटान घुमेर उनीहरु शुक्रबार पुनः काठमाडौँ आउने छन् । त्यसपछि आफ्नै जहाज लिएर भारत जानेछन् । वासिङटनबाट घुम्न निस्किएका उनीहरु १३औँ दिनमा नेपाल आइपुगेका हुन् ।