सरकारको आम्दानी भन्दा खर्च बढि


सरकारको राजस्व संकलन भन्दा धेरै चालु खर्च देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले राखेको लक्ष्यको १४ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको छ भने खर्च त्यो भन्दा धेरै छ।

असोज मशान्तसम्ममा सरकारले २ खर्ब ८ अर्ब ५८ करोड रुपैयाँ राजस्व उठाएको छ । यो कुल लक्ष्यको १४ दशमलव ८७ प्रतिशत हो। यस वर्ष सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

यस अवधिमा सरकारको कुल खर्च भने लक्ष्यको १५ प्रतिशत धेरै पुगेको छ। ३ महिनामा २ खर्ब २३ अर्ब ७५ करोड रुपैयाँ चालु खर्च भएको छ। यो कुल लक्ष्यको १८ दशमलव ९१ प्रतिशत हो। पहिलो त्रैमासिकमा सरकारको राजस्व संकलन भन्दा पूँजीगत खर्च धेरै देखिएको छ।

यस्तै पूँजीगत खर्च भने कमजोर देखिन्छ। पहिलो ३ महिनामा १९ अर्ब ६८ करोड रुपैयाँ मात्रै पूँजीगत खर्च भएको छ। यो भनेको लक्ष्यको ५ दशमलव १७ प्रतिशत मात्रै हो। सरकारको पूँजीगत खर्च भने निकै कमजोर छ।

राजस्व संकलन गत वर्षको भन्दा पनि घट्यो
सरकारको राजस्व संकलन गत वर्षको तुलनामा कम देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ५५ अर्ब रुपैयाँ रावस्व उठाएको सरकारले चालु आर्थिक वर्षको सोहि अवधिमा २ खर्ब ८ अर्ब रुपैयाँ मात्रै राजस्व उठाएको छ।

यस वर्ष सरकारले गत वर्षभन्दा पनि धेरै राजस्व उठाउने लक्ष्य लिएको छ। गत वर्ष ११ खर्ब ८० अर्बको लक्ष्य लिएकोमा यस वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको राजस्व हेर्दा यस वर्ष राजस्व संकलन घट्ने देखिएको छ। जसले गर्दा सरकारलाई लक्ष्य अनुसार राजस्व उठाउन कठिन छ।