प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना रहेको बताउनुभएको छ। ललितपुरमा मंगलबार आयोजित वाम(लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभयो उहाँले कोभिड–१९ महामारीको अवस्था र यसपछि डेंगुका कारण स्वास्थ्य क्षेत्रमा देखिएको अवस्थाबारे चर्चा गर्नुहुँदै सो कुरा बताउनुभयो। नेपाललाई कसै–कसैले श्रीलंका जस्तो हुन्छ भन्ने रहेपनि सरकारका मन्त्रीले जिम्मेवारीपूर्वक काम गरेकाले त्यसो हुन नपाएको उहाँको भनाइ छ।
प्रधानमन्त्री देउवो भन्नुभयो, “नेपालको श्रीलंका जस्तो हालत हुन्छ भन्ने पनि थिए, त्यस्तो होस् भन्ने चाहने पनि थिए। मन्त्रीले राम्रो काम गर्नुभएको छ। श्रीलंका हुनबाट नेपाल बचेको छ। नेपाल असफल राज्य हुनबाट बचेको छ। यस मानेमा नेपाल धेरै अगाडि बढेको छ।”
देशको जलस्रोत, बिजुली छिमेकी मुलुक भारतले किनेको भन्नुहुँदै ठूल–ठूला विद्युत् उत्पादन लगायतका सन्दर्भमा उहाँले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना बढेको बताउनुभयो। यस अर्थमा, नेपाल धेरै महत्त्वपूर्ण रुपमा अगाडि बढेको समेत उहाँले उल्लेख गर्नुभयो।
“नेपाल राष्ट्र एउटा ट्रान्जिसनमा छ भन्दा पनि हुन्छ, लोकतन्त्रलाई स्थायी पार्नुछ। ओलीजीले दुई पटक संसद भङ्ग गर्नुभयो। जनताले चुनेको संसद, संविधान कुनै पनि हालतमा भङ्ग गर्न नपाउने संवैधानि व्यवस्था भए पनि भंग भयो। यसकारण, संसद बचाउन आवश्यक छ”, संसारभरी नै आवधिक निर्वाचन पद्दति रहेको भन्नुहुँदै उहाँले निर्वाचनलाई स्थायी बनाउनुपर्ने बताउनुभयो।
प्रधानमन्त्री देउवाले हालको गठबन्धनमा नेताहरुबाट सहयोग भएका र यो राम्रोसँग सञ्चालन भएको भन्दै धन्यवाद दिनुभयो।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिलेको संविधान लामो समय जानेछ। सबैले मिलेर देश बनाउनुपर्ने आवश्यकता छ”, उहाँले देश कुनै जात विशेष नभएको आदिवासी, जनजाति, दलित, पिछडिएको क्षेत्र, महिला समावेशी लोकतन्त्रलाई रक्षा गर्नुपर्नेमा जोड दिनुभयो।