गठबन्धनका शिर्ष नेता पोखरा जाने


सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज पोखरा जाँदै छन् ।

 

शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । गण्डकी प्रदेशका उपाध्यक्ष गुणखर बस्यालले शिर्ष नेताहरुको प्रशिक्षणबाट धेरै विषयहरु थप प्रष्ट हृुनेभन्दै कार्यकताहरुरुले निर्वाचन परिचालको लागि आफ्नो क्षेत्रका साझा उम्मेदवारलाई जिताउनै पर्ने चुनौति भएको बताएका छन् । पुर्व सभासद् समेत रहेका बस्यालले विगतका कमि कम्जोरी सच्याउदै एक अर्कामा विश्वासको वातावरण तयार गर्नुपर्ने समय आएको समेत बताए । सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।

कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ। सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गरिने छ ।

यस्तै कात्तिक ६ गते धनगढी र सुर्खेतमा प्रशिक्षण हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । सत्ता गठबन्धनले यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त प्रशिक्षण गरेका थिए ।