तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न प्रशासनको रोक


काठमाडौं कार्तिक ०५ । काठमाडौं उपत्यकामा तिहारको बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । राति ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । बैठकले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध समेत गरेको छ ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सबैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो । आतिसबाजी नगर्न र पटाका नपड्काउन आज शनिबारदेखि माइकिङ सुरू गरिने प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । गत वर्ष ललितपुरमा म्ह पुजामा बालेको दीयोबाट आगो सल्किएर ग्यास सिलिन्डर विष्फोट भएको सो । सो दुर्घटनामा परेर एकै परिवारका ४ जनाले ज्यान गुमाएका थिए । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।