अवस्था फेरिन नसकेको सिंहदरबार (फोटो फिचर)


काठमाडौं कार्तिक ०५ । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिँगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनर्निर्माण राम्रोसँग सकिएको छैन । नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, सालिक, मूर्तिहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ ।

गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनर्निर्माणले गति लिन सकेको छैन । सिंहदरबारभित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् । प्रधानमन्त्री, मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमुना होला भन्ने लाग्छ नै ।

तर सोचजस्तो छैन सिंहदरबार । त्यहाँभित्रका दृश्यहरु अव्यवस्थित छन् । सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा फोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ । नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् । मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन । सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन ।

भुकम्पले भत्काएको पर्खाल ।
गृह मन्त्रालय अगाडिको झाडी ।
अलपत्र र विग्रेको अवस्थामा ट्राफिक बोर्ड ।
au}rfdf eTsfP/ cnkq 5f]l8Psf] ;+/rgf .
सिंहदरवारको पुर्वी ढोका नजिक सडक किनारामा खनेर छोडिएको खाडल ।
पुरानो संसद भवनमा राखिएको खतराको बोर्ड ।
एक क्याण्टिन अगाडि राखिएको पुराना कागजात ।
kfls{ªdf k’/fgf df]6/;fOsn / kmf]xf]/sf] 8+u’/ .
फुटपाथको बाटोमा भुमिगत विद्युतीय तार र ट्राफिकको बोर्डलगायत अवरोध ।
पुराना सरसामान र गाडी ।
गृह मन्त्रालयको पुरानो भवनअगाडिको सडक ।