आज लक्ष्मीपूजा : धनधान्यकी देवीको पूजा‍-आराधना


काठमाडौं कार्तिक ०७ । सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। तिथिका हिसाबले सोमबार कार्तिक कृष्ण चतुर्दशी। यो तिथि दिनभर अर्थात् २७ घडी १५ पला छ। अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेपछि मात्र औँसी लाग्छ।

पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने विधि एकैदिन परेको जनाएको छ। ‘लक्ष्मीपूजा साँझ गर्ने परम्परा छ’, समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भने, ‘औँसीको सूर्योदय भएका दिन मंगलबार साँझ प्रतिपदा तिथि लागिसक्ने भएकाले सोमबार नै लक्ष्मीपूजा गर्न निर्देश गरिएको हो।’ पुराणमा औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ।