कालीकोटमा बम विस्फोट हुदाँ दुई बालिकाको मृत्यु, तीन जना घाइते


कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१०  रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि  हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ ।

‘घटनाको बारेमा यो भन्दा बढी केही जानकारी आएको छैन, अनुसन्धान भइरहेको छ’ डीएसपी रिमालले भने ।