माओवादी र एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने


काठमाडौं कार्तिक १४ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन्। नेकपा माओवादी केन्द्रले दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम तय गरेको छ । माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ। प्राप्त उपलब्धिको रक्षा र संविधान कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको जनाइएको छ। पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको माओवादी केन्द्रले जनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्नेछन्। एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित घोषणापत्र तयार गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ । अहिलेसम्म नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् ।