प्रविधि मन्त्रालयमै लिफ्ट रोकिदा विदेशीसहित ६ जना अडकिएपछि…


सर्वोच्च प्रशासनिक निकार्य सिंहदरबा भित्रै लिफ्टमा स्वदेशी र विदेशी नागरिक अड्किए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्टमा दुईजना विदेशी पाहुना अड्किएका हुन । सोमबार दिउँसो साढे २ बजेदेखि करिब २ घण्टासम्म दुईजना विदेशी पाहुना र अन्य चारजना नेपाली लिफ्टमै अड्किएपछि सेना र प्रहरीसंग सहयोग मागेका थिए ।

लिफ्टमा अड्किएकामध्ये स्विडिस नागरिक नोरा हल्स्ट्रोम र एण्ड्रेस जेइथेन थिए। त्यस्तै नेपाली नागरिकहरु निलु महर्जन, शिवकुमार अग्रवाल, सुनिलमान सिंह र शंकर उपाध्याय पनि लिफ्टमा थुनिएका थिए। लिफ्टमा दुई घण्टासम्म अड्किएका उनीहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा सेना र प्रहरी झिकाएर निकालिएको हो।

प्राविधिक समस्या आएर अड्किएपछि उनीहरुलाई उद्धारमा सुरक्षाकर्मीलाई पनि मुस्किल परेको थियो। तर करिब एक घण्टाको मिहिनेतपछि उनीहरु सबैको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लिफ्ट अड्किएपछि अनेक जुक्ति लगाउँदा पनि अड्किएका ६ जनालाई निकाल्न नसकेपछि सेना र प्रहरीको संयुक्त टोली पुगेको थियो। उनीहरुलाई अड्किएको लिफ्टको ढोका फुटाएर निकालिएको हो।

सेना र प्रहरीको टोलीले मन्त्रालयको भुइँ तल्ला र पहिलो तल्लाको लिफ्टको ढोका फुटाएको नेपाल खवरले लेखेको छ । सरकारी कामकै लागि आएका दुई विदेशी पाहुनाहरु मन्त्रालयका सहसचिव डा। हरि लम्सालसँग संवादका लागि पुगेका थिए। तर उनीहरु चढेको लिफ्ट भुइँबाट पहिलो तलातर्फ पुग्न नपाउँदै बीचमै अड्किएको थियो।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार शारीरिक रुपमा अतिमोटा दुईजनालाई निकाल्न कठिन भएको थियो। लिफ्टको ढोका फुटाए पनि ती एकजना विदेशी र एकजना नेपालीलाई निकाल्न गाह्रो परेको थियो। अड्किएका ६ जनामध्ये एकजना विदेशी ११५ केजी र अर्का नेपाली ९५ केजी तौलका थिए। उनीहरुलाई दुईजनालाई निकाल्न सुरक्षाकर्मीले ठूलो मिहिनेत गरेका थिए।

सचिव लम्साललाई भेट्न पुगेका उनीहरु साढे २ बजे मन्त्रालय छिरेका थिए। तर उनीहरु लिफ्टमा अड्किएपछि मन्त्रालयमा हल्लीखल्ली भएको थियो। लिफ्ट अड्किएर गम्भीर समस्या भोग्नुपरेपछि सिंहदरबारभित्रैको प्रविधि प्रयोगमा प्रश्न उठेको छ। यसबारेमा छानबिन तयारी गरिएको छ।

लिफ्ट बन्द भएपछि भित्र थुनिएकाहरु तर्सिएका थिए। सुरक्षाकर्मीले बाहिरबाट लिफ्टको ढोका फुटाउने क्रममा उनीहरु झन् त्रसित भएका बताइएको छ।