२० ग्यारेन्टीसहित एमालेको घोषणापत्र सार्वजनिक


नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ ।

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।

नेकपा एमालेले ५० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९को लागि जारी गरेको चुनावी घोषणापत्रमा वर्षायाममा मासिक ५० यनिट र हिउँदयाममा मासिक ३० यनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।

एमालेले ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने दुई वर्षमा विद्युतमा पहुँच पुग्ने जनसंख्या शत प्रतिशत पुर्‍याइने बताएको छ ।

 

घोषणापत्रमा ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याइने उल्लेख छ । आगामी तीन वर्षमा सतह तथा भमिू गत सिंचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने भन्दै एमालले सिंचाइलाई वर्षायामको बिजली महसुलमा ५० प्रतिशत र हिउँदयाममा २५ प्रतिशत छुटको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

 

त्यसैगरी एमालले आगामी दुई वर्षभित्रै सबै परिवारमा पिउनेपानीको आधारभूत सुविधा पुर्‍याउने र सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ ।