एमालेको स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र भएको ओलीको दाबी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा नभएको दावी गरेका छन् । बुधबार नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारहरू स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ जाने बताएका छन् ।

‘नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा होइनन् । जोसँग अर्को चुनावमा अहिले गरिएका हिसाबकिताब खोज्न सक्नुहुन्छ । त्यसको जिम्मा मेरो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एक सिट हुनेहरूलाई च्याखेको संज्ञा दिँदै एमालेको सरकार ढालेँ भनेर उफ्रिरहेको बताए । उनले मोहनविक्रम सिंहको नाम दिँदै उनको पार्टीका एक जनालाई एमालेले नै मत दिए पनि अहिले कान्छी भाउजू उता लागेको बताए ।

उनले अहिले विकासका लागि प्रतिबद्ध राष्ट्रिय शक्तिको आवश्यक रहेको भन्दै फेरि च्याखेहरुले सौदावाजी गर्न नदिन एमालेलाई भोट दिन आव्हान गरे ।