रुपन्देहीमा दम्पती मृत फेला परे


रूपन्देही जिल्लाको देवदहमा एक दम्पती मृत फेला परेका छन्। देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज बिहान घरभित्रै दम्पती मृत फेला परेका हुन । चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको स्थानीयले बताएका छन ।

आफन्तलाई बोलाएर ढोका खोल्ने र थप अनुसन्धान अगाडी बढाउने रुपन्देहीका प्रहरी प्रमुख एसपी रबीन्द्र रेग्मीले जानकारी दिए। बोलिन्द्र केही समय पहिले मात्रै बैदेशिक रोजगारीबाट फर्किएका हुन्। घरायसी झगडाका कारण उनले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान प्रहरीको छ। घटना बारे थप अनुसन्धान जारी रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताएका छन् ।