प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीले भन्नु भएको छ, ‘‘भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न आफ्नो सामाजिक सञ्जाल मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’’

 

घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठुलो क्षति पुर्‍याएको छ । मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६दशमलव६ म्याग्निच्युडको भूकम्पले यहाँ सहित ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् ।
राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५दशमलव७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।