आज मध्यरातिदेखि निर्वाचनको शुन्य समय सुरु


निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो ।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् सो जानकारी दिएका हुन् ।

यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।