मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास : राष्ट्रपति भण्डारी  


मंसिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।

जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहीत सार्वभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ ।

मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु । यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु ।