काठमाडौं ६ बाट पूर्व रक्षा मन्त्री र प्रहरी महानिरीक्षकलाई पराजित गर्दै स्वतन्त्र पाटीका खनाल विजयी


काठमाडौं निर्वाचन क्षेत्र नम्बर –६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै विजयी भएका हुन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याएका हुन् ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका पुर्व रक्षा मन्त्री तथा कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ । यसअघि काठमाडौं(२ मा सोबिता गौतम, काठमाडौं(७ मा गणेश पराजुली र काठमाडौं(८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।

 

काठमाडौं(६ मा निर्वाचित शिशिर खनाल टिच फर नेपालका सहसंस्थापक समेत हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए । केही समय उनी तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकारका रूपमा समेत काम गरेका थिए । अहिले उनी डेलिभरी र लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको पिक एन्ड ड्रप्सका सञ्चालकसमेत हुन् ।

टिच फर नेपालले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयका करिब ५० हजार विद्यार्थीलाई पढाएको छ । टिच फर नेपालमार्फत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिँदै आएको छ । जसमा छनोट भएका युवाहरूले २ वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन् । सामान्य मोबाइल वा कम्प्युटरको प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा टिच फर नेपालको प्रयोगले देखाएको छ । सार्वजनिक दुर्गम विद्यालयहरूमा टिच फर नेपालका स्वयंसेवक फेलोहरूले यसको उपयोग गरिरहेको कान्तिपुरले लेखेको छ ।

काठमाडौं(६ मा यसअघि २०७४ सालमा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए । उनले एमाले(माओवादी गठबन्धनका झक्कुप्रसाद सुवेदीलाई हराएका थिए । प्रधानले १६ हजार ७ सय ८५ र सुवेदीले १५ हजार ४ सय ८५ मत पाएका थिए । २०७० मा पनि उक्त क्षेत्रबाट प्रधान विजयी भएका थिए ।