आयात खुलाउन माग गर्दै अटो व्यवसायीबाट आन्दोलन घोषणा


 

सरकार तथा राष्ट्र बैंकको नीतिका कारण समस्यामा परेका अटोमोबाइल्स व्यवसायीहरुले विरोध तथा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। अटो व्यवसायीले शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेजीको माग गरेका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण र गाडी आयात फुकुवा माग गर्दै आन्दोलन घोषणा गरेको जनाएका छन् । जसले कर तिरेको छ उसैलाई सरकारले पेलेको व्यवसायीले आरोप छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बाध्यात्मक परिस्थिति आएको बताए। २१ प्रतिशत राजस्व योगदान अटो क्षेत्रले दिए पनि सरकारले अटोमोबाइल्सलाई प्राथमिकता नदिएको बताए।

उनले ८ महिनादेखि अटो व्यवसाय बन्दप्राय ः रहेको बताउँदै १ लाख रोजगारी सिर्जना गरेको यस क्षेत्रमा ३० प्रतिशत कटौती भएको बताए। उनले गाडीमा ५० प्रतिशत र पार्टस १०० प्रतिशत नगद मार्जिन राख्नुपरेको भन्दै असन्तुष्टि जनाए।

अटोमोबाइल्स व्यवसायी सडकमा जाने अवस्थामा छौँ थापाले भने, मंसिर २२ गतेसम्म पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेका छौँ। अध्यक्ष थापाले समस्या समाधान नभए पुनस् आन्दोलन घोषणा गर्ने बताए।

यस्ता छन् विरोध कार्यक्रम
सरकारी नीतिको विरोध गर्दै उनीहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।यसअनुसार २२ गते सम्पूर्ण व्यवसायीले कालो पहिरन लगाई ११ बजेदेखि २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम छ। उक्त दिन सातै प्रदेशमा धर्ना कार्यक्रम बस्ने नाडाले जनाएको छ।

आन्दोलनका संयोजक तथा नाडा उपाध्यक्ष सुरेन्द्र रिजालले ३ घण्टा शान्तिपूर्ण धर्ना गर्ने बताए। उनले नगद मार्जिनको व्यवस्था र गाडी आयात खुल्ला गर्नुपर्ने बताए। निर्जीवन बीमाको ५० प्रतिशत व्यवसाय घटेकोमा पनि उनीहरुले असन्तुष्टि जनाएका छन्।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सरकारका कारण ५८ वटा डिलर बन्द भएको बताए। नाडाका अनुसार अटो क्षेत्रमा १ खर्ब लगानी रहेको छ भने १० हजार व्यवसायी रहेका छन्।