राष्ट्रिय पार्टीको मान्यता पाउने सात दल कुन कुन ?


निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दल गरी सात दल राष्ट्रिय पाटी बनेका छन् । यी सात दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेगरी तीन प्रतिशत थ्रेस होल्ड कटाएका उनको भनाई छ ।

एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भइसकेको छ। प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना भइरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको छ । ‘‘हालसम्म २०७९ साल मङ्सिर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्री भइसकेको अवस्था छ। प्राप्त मतको आधारमा सात वटा राजनीतिक दलले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिएको हो ।

आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ। दलले पाएको मत सङ्ख्या अनुसार उनीहरूले बन्द सूचीमा पठाएका समानुपातिक सांसद निर्वाचित हुनेछन्। त्यसका लागि आयोगले दलले प्राप्त गरेको सङ्ख्या पठाउने र दलले आफूले बन्द सूचीमा पेस गरेका नामावलीको क्रमसङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन्। त्यसो गर्दा एक तिहाइ महिलाको सङ्ख्या भने राजनीतिक दलले पठाउनुपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले बताए । छिनो मतले एकीकृत समाजवादी पार्टी समानुपातिक तर्फको सिट हात पार्न असफल हुने देखिएको छ । यद्यपि बार्की रहेका स्थानमा चमत्कारी रुपमा कलममा मतलान भएको अवस्थामा बने राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने सम्भावना भने बाँकी नै छ ।