बाजुरामा कांग्रेसका पाण्डे विजयी


बाजुराको प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन।

उनले प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। पराजित थापाले २६ हजार ३ सय ४९ मत पाएका हुन । विजयी पाण्डे कांग्रेसका सहमहामन्त्री हुन्।

राप्रपाका जंगकुमार गिरीले २०७, स्वतन्त्र टेकबहादुर बढुवालले ११४ र जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३ मत प्राप्त गरेका छन् । यसअघि ०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर नेकपा एमालेका लालबहादुर थापा संघीय सांसदमा निर्वाचित भएका थिए।

प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएको घोषणा यसअघि नै भइसकेको छ। बाजुरा प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै १६५ क्षेत्रमध्ये १६४ सिटको परिणाम आइसकेको छ। अब दोलखाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। यता समानुपातिक तर्फको मत गणना समेत अन्तिम चरणमा पुगेको छ ।