२३ गते शुक्रबारदेखि राजधानीमा मेलम्चीको पानी


२३ गते शुक्रबारदेखि फेरी राजधानीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिएका छन् ।

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

उनले भने,‘मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेका छौँ, अहिले काठमाडौँतर्फको गेट बन्द गरेर सुरुङमा पानी भर्ने काम भइरहेको छ । ३ दिनभित्रमा यो काम सकेर पानी प्रशोधन गरी शुक्रबारबाट काठमाडौंको वितरण प्रणालीमा पानी छोड्दैछौँ । शुक्रबार हामीले वितरण प्रणालीमा पानी छोडेको २ घण्टाभित्र सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेछ ।’

काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने विषयलाई उच्च प्राथमिकता राखेर दिनरात नभनी काम गरेको परिणामस्वरूप काठमाडौंमा पानी आइपुगेको उनले बताए ।

आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ । अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पु(याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले दिने मनसुन सुरुको सूचना पछि बर्खायामभर पानी बन्द गरिने श्रेष्ठले बताए । साथै मनसुनको बेला पनि काण्माडौँमा पानी ल्याउन सक्ने विकल्पको बारेमा पनि अध्ययन भइरहेको उनले बताए ।

यस्तै मेलम्ची खानेपानी विकास समिति खारेजको विषयमा सरकार संवेदनशील बन्नुपर्नेमा श्रेष्ठले जोड दिए । उनले निरन्तर रुपमा काठमाडौंमा खानेपानी वितरणका लागि विकास समितिलाई कसरी क्रियाशील र व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले प्रमुख प्राथमिकता दिनुपर्नेमा उनको जोड रहेको छ ।