समानुपातिक मतगणना सकियो, सात पार्टी राष्ट्रिय दल, कसको कति मत ?


मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । गणनाको नतिजाअनुसार सात वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बनेका छन् ।
निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका हुन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतगणनाको काम सकिएकाले आजदेखि दलले पाउने सिट संख्याको टुंगो लगाएर दलहरुलाई आजै पत्राचार गरिने छ ।

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार समानुपातिकतर्फको मतगणना सकिएकाले दलले प्राप्त गर्ने सिट बाँडफाँटको काम आजै टुंगिने छ । एक करोड ५ लाख ६० हजार ६७ कुल सदर मतको गणना भएको उहाँले बताउनुभयो । यद्यपि निर्वाचनमा समानुपातिक तर्फ करिब एक करोड १० लाख मत खसेको उहाँले जानकारी दिनुभयो । दलहरुले प्राप्त गरेको मत आयोगले आफ्नो वेवसाइटमा पनि प्रविष्ट गरिसकेको छ ।

अन्तिम मत परिणामअनुसार सात वटा दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत ल्याउनु पर्ने आयोगले जनाएको छ ।

नेकपा ९एमाले० बाट अलग भएर नकपा एकीकृत समाजवादी दल बनाएको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दल प्रत्यक्ष तर्फ १० सिटमा विजय निकाले पनि थ्रेसहोल्ड कटाउन सकेन । सो दलले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय दल बन्न १८ हजार ४११ मत सो दललाई अपुग भएको छ ।

राष्ट्रिय दल बनेका दलले पाएको मत यस्तो छ 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड १० लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७११ छ । ती मत समनुपातिकतर्फको ११० सिट बाडफाँटमा भाग लगाइने छ । थ्रेसहोल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ मत खेर गएको छ ।

नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको २ लाख ९८ हजार ३९१ मत पनि खेर गएको छ । त्यस्तै, थ्रेसहोल्ड नकटाउने अन्य ४० दलले प्राप्त गरेका मत पनि खेर गएको छ ।

आयोगको नतिजा अनुसार सबैभन्दा बढी नेकपा ९एमाले० ले थ्रेसहोल्ड कटाउने सात दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । सो दलले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेले प्राप्त गरेको मत २८ लाख ४५ हजार ६४१ रहेको छ ।

दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेको छ । सो दलले ३२ सिट प्राप्त गर्ने देखिएको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । सोहीअनुसार तेस्रोमा नेकपा ९माओवादी केन्द्र० ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । सो दलले समानुपातिक तर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि थ्रेसहोल्ड कटाएको छ । सो दलले १२ प्रतिशत मत प्राप्त गर्दै १३ सिट प्राप्त गर्नेभएको छ । सो दलले ११ लाख ३० हजार ३४० मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ७ सिट पाउने भएको छ । सो दलले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ५ सिट पाउने छ । सो दलले ४ लाख २१ हजार ३१४ मत पाएको छ । जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतले ३ लाख ९४ हजार ६५५ मत पाएको छ । निर्वाचन आयोगले अन्तिम हिसाव निकालेपछि एक दुई सिट तलमाथि हुनसक्ने जनाएको छ । त्यसको टुंगो आजै हने सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

प्रतिनिधि सभामा २७५ जनामध्ये १६५ जना यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भइसक्नु भएको छ । समानुपातिक तर्फ अब ११० जनाले दलहरुले आयोगमा पेश गरेको बन्दसूचीका आधारमा चुनिनेछन् । आयोगले २६ गते भित्र सबै परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाइसक्ने बताएको छ ।

प्रत्यक्ष जितेर थ्रेसहोल्ड नकटाउने दल

प्रत्यक्ष सिटमा विजयी भएर पनि थ्रेसहोल्ड नकटाएर राष्ट्रिय दल नबनेका दल एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा रहेका छन् । आयोगका अनुसार एकीकृत समाजवादीले १० सिट प्रत्यक्षतर्फ जितेको छ । त्यस्तै, उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । लोसपाले ४ सिट जितेको छ । नेमकिपा र जनमोर्चाले एक – एक सिटमा जित निकालेका छन् ।

सबैभन्दा कम मत पाउने दल

आयोगको तथ्यांक अनुसार समानुपातिक तर्फ सबैभन्दा कम मत पाउने दल नेश्ललिष्ट पिपल्स पार्टी रहेको छ । त्यो दलले २ हजार १८ मत मात्र प्राप्त गरेको छ । त्यस्तै, अर्को दल राष्ट्रिय नागरिक पार्टी पनि हो । त्यो दलले २ हजार १५० मत पाएको छ । अर्को कम पाउने दलमा नेपाल कम्युनिष्ट पार्टी परिवर्तन रहेको छ । त्यो दलले २ हजार २२० मत पाएको छ ।