आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले अधिकारकर्मी पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’, पर्वतारोही आङ्रिता शेर्पा, कवि माधवप्रसाद देवकोटा र गायिका कोइली देवीको नाममा टिकट प्रकाशन गरेको हो ।
उहाँहरूको मुखाकृत अङ्कित रु १० दरको टिकट प्रकाशनमा ल्याइएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो । प्रकाशित टिकटको आजदेखि बिक्री खुला गरिएको छ । दुई लाख थान टिकट प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।
सरकारले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक तथा साङ्गीतिक क्षेत्रको विकासमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वको नाममा हुलाक टिकट प्रकाशन गर्दै आएको छ । कार्यक्रममा मन्त्रालयका सचिव तथा टिकट प्रकाशित भएका व्यक्तित्वको परिवारजनको उपस्थिति थियो । रासस