अमेरिका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने


जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज बिहीबार अमेरिका र नेदरल्यान्ड्स भिड्दै छन् ।

दुई टोलीबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

दोस्रो खेल खेल्दै गरेको नेदरल्यान्डले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो ।

आजको खेलमा जित हात पारेर सुपर सिक्सको सम्भावना कायम राख्न चाहन्छ । उता, अमेरिका पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । सुपर सिक्सको सम्भावना कायम राख्न अमेरिकालाई आजको खेल जित्नै पर्ने छ ।

प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ ।

नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग टू मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र युएई लिग टू बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।