घोराही सिमेन्ट्सको आईपीओ निष्काशन पुनः सुचारु


असार ४ गतेदेखि स्थगित भएको घोराही सिमेन्ट्सको आईपीओ निष्काशन आज अर्थात असार २२ गतेदेखि पुनः सुचारु हुने भएको छ। असार २० गतेको नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आईपीओ निष्काशन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओमा असार २४ गते, आइतबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ३१ गतेसम्म लम्बिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ। बोर्डको निर्देशन अनुसार शेयर खरिदका लागि आवेदन दिइसकेका आवेदकहरुले सो आवेदनमा शेयर संख्या थपरघट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा असार २२ गतेदेखि २४ गतेसम्म आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने पनि सो सूचनामा उल्लेख छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ। त्यसैगरी, इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महिना रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।