ककनी र धुनीबेँसीको ल्यान्डफिलमा फोहोर फाल्न रोक


संघीय सरकार र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्न चासो नदिएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङ धुनीबेँसीका बासिन्दाले पुनः आन्दोलनको तयारी गरेका छन् । उनीहरूले सोमबारदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने थलो बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरका कन्टेनर प्रवेशमा रोक लगाउने जनाएका छन् ।

यसअघि स्थानीयवासीले फोहोर र मानव सँगसँगै नराख्न संघीय मन्त्रालयलाई पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेको उनीहरूको भनाइ छ । प्रधानमन्त्रीले फोहोर व्यवस्थापनमा निर्देशन दिए पनि कार्यान्वयन नभएको उनीहरू बताउँछन् ।ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने निर्णय पनि गरेको थियो ।

१९ असारमा बसेको गाउँसभाले १ साउनदेखि फोहोर बोकेर बन्चरेडाँडा जाने साना गाडीलाई एक हजार र ठूला ट्रकलाई १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले बताएका थिए । ‘सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बन्चरेडाँडामा फोहोर व्यवस्थापन भइरहेको छ । उपत्यकाको फोहोर बिसर्जनस्थल यहाँ भए पनि सबैतिरबाट बेवास्तामा परेको छ । त्यसैले अब साना गाडीलाई एक हजार र ठूला गाडीलाई १५ प्रवेश शुल्क लिन लागेका हौँ,’ तामाङले भने । उनका अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर प्रवेश शुल्क उठाउन लागिएको हो ।

फोहोरमैला व्यवस्थापनमा कडाइ गर्दै जाने निर्णय
गाउँपालिकाले सिसडोल ल्यान्डफिल साइट र बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइट निर्माण गर्दा भएको वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० प्रतिवेदनको अध्ययन गरेर फोहोरमैला व्यवस्थापनमा कडाइ गर्ने जनाएको थियो । ‘हामी इआइए रिपोर्ट अध्ययन गर्दै छौँ । इआइए रिपोर्टअनुसार कतिपय काम नभएको पाएका छौँ । त्यसमा अब एक्सनमा जान्छौंँ,’ अध्यक्ष तामाङले भने । हाल शनिबारबाहेक अन्य दिन एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहोर बन्चरेडाँडामा पुग्ने गरेको छ भने शनिबार करिब एक सय ५० ट्रक फोहोर बोकेर बन्चरेडाँडा पुग्ने गरेका छन् ।

यता, काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भने यस वर्षदेखि फोहोर नउठ्ने समस्या नहुने बताएका थिए । ‘फोहोर नउठ्ने समस्यालाई मध्यनजर गरेर महानगरले तयारी गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘मुख्य समस्या बाटोकै हो । यसका लागि डोजर, लोडर तयारी अवस्थामा राखेका छौँ ।’ तीनपिप्लेदेखि नुवाकोटको सिसडोल सडकखण्डमा बर्खाका वेला धेरै समस्या आउने गरेको छ । यसबाहेक महानगरले ल्यान्डफिल साइट सिसडोलमा पर्खाल लगाउने कामसमेत गरिरहेको छ । महानगरसहित उपत्यकाको १७ स्थानीय तहका फोहोर हाल बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । यी सबै स्थानीय तहबाट दैनिक १० देखि १२ टन फोहोर उत्पादन हुने गर्छ ।