दशगजा क्षेत्रमा बनाइएको टहरा हटाइयो


सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा (नो म्यान्स ल्यान्ड) क्षेत्रमा नेपाल र भारत दुवै तर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्दैआएका थिए ।

नेपालतर्फका सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त प्रयासबाट भारतको बिहारसँग जोडिएको सीमामा लामो समयदेखि भइरहेको अतिक्रमण हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

“स्थानीय प्रशासनको नेतृत्वले समन्वय र व्यवस्थापकीय क्षमता प्रयोग गरेर दशगजाको अतिक्रमण खाली गराएको हो” प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, “मुख्य अतिक्रमण खाली भइसकेको छ । अरु पनि साना कहीँकतै अतिक्रमण देखियो र हाम्रो सूचनामा आयो भने भारतीय पक्षसँग समन्वय गरेर खाली गराउने अभियानमा छौँ ।” दुवै तर्फका सुरक्षाकर्मी मिलेर दशगजा क्षेत्रमा रहेका ४१ वटा घर, टहरा र पसल हटाएका छन् ।

सबैभन्दा धेरै विष्णु गाउँपालिका –५, फेन्हरा तथा भारततर्फ जिल्ला सितामढी बगाहा ग्रामपञ्चायत २ मा पर्ने दशगजा क्षेत्रमा मात्रै २८ वटा घर, टहरा र चिया पसल हटाइएको छ । फेन्हराको यो नाकामा यसअघि नेपाल र भारत दुवै तर्फका नागरिकले दशगजा क्षेत्र कब्जा गरेर सीमा छुट्याउने ‘पिल्लर’ मै खुलेयाम रुपमा आवास तथा बजार लगाउने गरेका थिए ।

यस्तै, मुख्य अतिक्रमणकै क्षेत्रमा रहेको ब्रह्मपुरी गाउँपालिका –४, त्रिभुवननगर सेखटोल र भारततर्फ जिल्ला सितामढी सोनवर्षा ग्रामपञ्चायत –८, सोनवर्षामा आठ वटा घर तथा पसल हटाइएको छ । यहाँ सीमा क्षेत्र अतिक्रमण गरी दशगजाको पिल्लर पार गरेर त्रिभुवन नगरको पुलछेउसम्म आएर भारतीयले टहरा बनाउने, पसल थाप्ने गरिरहेका थिए ।

अहिले त्यो अतिक्रमण हटाएर दुवै तर्फका सुरक्षाकर्मीले आफ्नो सीमा क्षेत्रमा बसेर डिउटी गरिरहेका छन् । त्यस्तै, बलरा नगरपालिका –५, अर्नाहा र भारततर्फ जिल्ला सितामढी सिजुवा ग्रामपञ्चायत ३ बेलवामा चार वटा घर टहरा तथा गोडैता नगरपालिका –१२, मधुवनी र भारततर्फ जिल्ला सितामढी बहेरा ग्रामपञ्चायत –६, नन्कारमा दशगजामै बनाइएको एउटा घर हटाइएको छ ।

गोडैता नगरपालिका –१२, मधुवनीका अभिताप कुशवाहाले दशगजाको अतिक्रमण खाली हुँदा खुसी लागेको बताउनुभयो । “दशगजाको अतिक्रमण हटाउनु राम्रो हो, अब यहाँ दुवै देश मिलेर जग्गा नापचाँज गरी स्पष्टसँग यो नेपाल र यो भारत भनेर छुट्याउन जरुरी छ,” कुशवाशाहले भन्नुभयो, “त्यसपछि पुनः दशगजा अतिक्रमण हुनबाट रोक्नुपर्छ ।”